ज्ञानेन्द्र शाहीले कार्यक्रम गर्न चितवन नै रोज्नुको रहस्य

काठमाडौं, शनिबारका दिन ज्ञानेन्द्र शाहीलगायतका समूहमाथि चितवनमा आक्रमण भएपछि अहिले एकथरिले सरकारविरुद्ध आक्रोश पोख्ने काम गरेका छन् ।

तर तथ्यहरुले भने ज्ञानेन्द्र शाहीहरुले अराजकता र चर्चा बटुल्न नियोजितरुपमा नै चितवनमा कार्यक्रम गर्न खोजेको देखाएका छन् ।

ज्ञानेन्द्र शाहीले भ्रष्टाचारविरोधी अभियन्ताको रुपमा आफूलाई चिनाएका छन् । त्यसो हो भने उनले कि त ७७ वटै जिल्लामा गएर कार्यक्रम गर्ने योजना बनाउनु पथ्र्यो । त्यस अन्तर्गत उनी चितवन पुगेको भए त्यसलाई सामान्य मान्न सकिन्थ्यो । अथवा, चितवनमा मात्रै त्यस्तो कुनै भ्रष्टाचारको विशेष इस्यू भएको भए त्यसको बिरोधमा उनीहरु चितवन ओर्लिनुलाई पनि स्वभाविकरुपमा नै लिइन्थ्यो ।
तर ज्ञानेन्द्र शाहीहरुले यी दुबै कारणले चितवन रोजेको देखिँदैन ।

उनीहरुले चितवन रोज्नु प्रचण्डविरुद्ध सुनियोजित र श्रृंखलाबद्ध षडयन्त्रलाई अझै प्रश्रय दिनु मात्र थियो ।

त्यसैले उनीहरुले चितवन जिल्लामा कार्यक्रम गर्ने योजना बनाए । उनीहरुलाई कार्यक्रम बिथोल्छन् भन्ने राम्रैसँग थाहा थियो । यो थाहा भएर नै उनीहरुले कार्यक्रम गर्न खोजे । अन्यथा यतिखेर काठमाडौंबाट चितवन गएर कार्यक्रम गर्नुको कुनै तुक देखिँदैन ।

नेपालको संविधानले वाक तथा अभिव्यक्तिको स्वतन्त्रता दिएको छ । त्यो अर्थमा ज्ञानेन्द्र शाही मात्र होइन, अन्य कसैले पनि संविधानभित्र रहेर आफ्नो अभिव्यक्ति दिन सक्छ । घुमफिर गर्न सक्छ । तर संविधान प्रदत्त यो अधिकारलाई नियोजितरुपमा कसैप्रति लक्षित गर्न खोज्नु त्यो कदापी कानुन सम्मत हुँदैन । कानुनमा नियतको ठूलो अर्थ हुन्छ ।

आखिर चितवनमा नै कार्यक्रम गर्नुका पछाडि ज्ञानेन्द्र शाहीहरुको नियत के थियो ?

किन उनीहरु धादिङ या बुटवल गएनन ? किन उनीहरु बिराटनगर या धनकुटा इलाम पुगेनन ?

स्पष्ट छ, चितवन प्रचण्डको गृह जिल्ला हो । चितवनको मेयर रेणु दाहाल हुन । उनी नाताले प्रचण्डको छोरी हुन ।

र, चितवनमा केही समयअघि मात्रै रवि लामिछाने प्रकरणमा आन्दोलन चलेको थियो । ज्ञानेन्द शाहीहरुले यी सबै पक्षको आँकलन गरेर विवाद सिर्जना गर्न नै चितवन रोजेको स्प्ष्ट देख्न सकिन्छ ।

ज्ञानेन्द्र शाहीहरुले अरु जिल्लामा गएर कार्यक्रम गर्दा त्यो बिथोलियो भने उनीहरुले त्यसको दोष प्रचण्डलाई दिने ठाउँ हुँदैन । उनीहरुले प्रचण्डलाई बदनाम गर्न पाउँदैनन्, रेणु दाहाललाई बदनाम गर्न पाउने अवसर पाउँदैनन ।

ज्ञानेन्द्र शाहीहरुको मुख्य निशाना प्रचण्ड र गणतन्त्र बनेको छ । प्रचण्ड यसकारण कि नेपालमा प्रचण्ड नभएको भए राजतन्त्र सम्भवतः अहिलेसम्म पनि जिवितै हुन्थ्यो होला । माओवादीले जाति, धर्म, भूगोल, लिंग र वर्णका मुद्दा उठाएर सामन्ती राजतन्त्रविरुद्ध आन्दोलन नछेडेको भए तत्कालिन नेपाली कांग्रेस र एमालेले यो साहस गर्ने थिएनन् होला । त्यसैले अधिकांशको रिस प्रचण्डमाथि छ ।

राजतन्त्रको अन्त्यपछि पनि प्रचण्ड चुप बसेका छैनन् । उनले अहिलेको व्यवस्था पनि फेरौं र उन्नत समाजवादी नेपालका लागि अघि बढौं भनिरहेका छन् । त्यो भनेको सेना, प्रहरी, अदालत, र राज्यसंरचनामा नै परिवर्तन भन्न खोजेको हो । कर्मचारीतन्त्रको संरचना र आकार फेर्ने कुरा, सामाजिक न्यायसहितको अग्रगामी नेपाली समाजको निर्माण गर्ने कुरा चानचुने विषय होइनन । लामो समयदेखि एउटा अस्तित्वमा रहेको शक्ति अस्तित्व रक्षाका लागि छटपटिनु स्वभाविकै हो । प्रचण्डले परिवर्तनको कुरा गर्छन, त्यसैले उनीविरुद्ध आक्रमण हुन्छ । आलोचना हुन्छ । अहिले यही कुरा ज्ञानेन्द्र शाहीहरुले गरिरहेका छन् ।
ज्ञानेन्द्र शाहीहरुमाथि आक्रमण हुनुहुँदैनथ्यो । त्यसमा बहस गर्नुपर्दैन । तर ज्ञानेन्द्र शाहीहरुको पनि नियत सफा हुनुपथ्र्यो । उनीहरु के का लागि लडिरहेका हुन, त्यो कसकाविरुद्ध लक्षित छ, के पाउन खोजिरहेका हुन ? त्यो स्प्ष्ट हुनुपथ्र्यो । सडकमा ओर्लिएर गाली गर्नुले व्यवस्था सुध्रिन्न । यसले अराजकता मात्र निम्त्याउँछ ।

तर शाहीहरुको कदम हेर्दा उनीहरु स्पष्टसँग प्रचण्ड र गणतन्त्रविरुद्ध खनिएका छन् । यो अवस्थामा गणतन्त्रलाई माया गर्ने, परिवर्तनका पक्षमा उभिने र यसको नायकका रुपमा प्रचण्डलाई माया गर्नेहरुले प्रतिवाद गर्दा हुने अप्रिय अवस्थाको जिम्मेवारी स्वयम् ज्ञानेन्द्र शाही र उनको समूहले लिनु पर्दैन र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *